तिलु शर्मा पौडेल-
म्याग्दी प्रवासी नेपाली संघ (मोना) क्रोएसियाद्वारा आयोजित निबन्ध लेखन प्रतियोगिताको नतिजा प्रकाशन गरिएको छ । शनिबार म्याग्दीको सदरमुकाम बेनीमा एक समारोहको आयोजना गरी गत फागुन १० गते देखि २५ गतेसम्म आयोजित निबन्ध लेखन प्रतियोगिताको नतिजा प्रकाशनसहित पुरस्कार वितरण गरिएको हो ।

“प्रवासी म्याग्देली दृष्टि, समृद्ध म्याग्दीको सृष्टि” भन्ने शीर्षकमा आयोजित लेखन प्रतियोगितामा अन्य १२ प्रतिस्पर्धीलाई पछि पार्दै बेनी नगरपालिका वडा नम्बर ९ नेप्टेचौर निवासी शिक्षक शंकर चोखालले प्रथम स्थान हासिल गरेका छन् । चोखालले उपाधिसँगै रु २० हजार नगद, ट्रफि र प्रमाणपत्र हात पारेका छन् । त्यस्तै प्रतियोगितामा मुकुन्द प्रसाद रेग्मीले द्वितीय हुँदै रु १५ हजार, मित्रबन्धु सुवेदी (कल्याण)ले तृतीय हुँदै रु १० हजार र समिता आचार्यले सान्त्वना रु ५ हजार नगदसहित ट्रफि र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगीतालाई निष्पक्ष बनाउन त्रिविक्रम सुवेदीको संयोजकत्वमा राम प्रसाद सुवेदी, पशुपति केसी, नन्द गर्वुजा र रामकृष्ण शर्मा रहेको निर्णायक समितिको चयन गरिएको थियो । निर्णयका आधारहरूका बारेमा संयोजक सुवेदीले स्पष्ट पारेका थिए l कार्यक्रममा निर्णायकसहित प्रतियोगितामा सहभागी लिटिल गार्डेनकी सुप्रभा जिसी र प्रकाश माविकी प्रज्ञा रिजाललाई प्रोत्साहन स्वरूप सहभागी प्रमाणपत्र र नगदसहित पुरस्कृत गरिएको थियो ।
विजयीहरूलाई कार्यक्रमका प्रमुख अतिथि बेनी नगरपालिकाका प्रमुख सुरत केसी, मोना क्रोएसियाका अध्यक्ष तथा कार्यक्रमका सभापति रुपेश सुन्दासलगायतले पुरस्कार वितरण गरेका थिए । कार्यक्रममार्फत सहयोगी दाताहरू, जिल्लाका क्रियाशील पत्रकार हरिकृष्ण गौतम र अमित विश्वकर्मालाई दोसल्ला र सम्मान पत्रद्वारा सम्मान गरिएको थियो भने पत्रकार महासंघका अध्यक्ष प्रकाश पौडेल, शिव आचार्य, सन्तोष गौतम, कमल खत्री, साधन राम्जालीलाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि केसीले विदेशमा सिकेको ज्ञान र सीपलाई जिल्लामा लगानीसहित हस्तान्तरण गर्न प्रवासी म्याग्देलीहरुलाई आह्वान गरेका थिए । उनले अब जिल्लामा फर्केर उद्योग तथा अन्य उत्पादनको क्षेत्रमा लगानी गर्न आग्रह गर्दै सहजताका लागि नीतिगत निर्णय गर्न आफूहरू तयार रहेको बताए । कार्यक्रममा विभिन्न वक्ताहरूले आफ्नो भनाइ राखेका थिए । कार्यक्रममा बाल कलाकारहरूले आकर्षक नृत्य प्रस्तुत गरेका थिए भने गोकुल सुनारले सहजीकरण गरेका थिए । मोना क्रोएसियाका संस्थापक अध्यक्ष तथा निबन्ध लेखन प्रतियोगिताका संयोजक रामकृष्ण शर्माद्वारा लिखित स्वागत मन्तव्य अनिता गौतमले वाचन गरेकी थिइन् । प्रवासमा तथा जिल्लामा रहेका म्याग्देलीहरुको बौद्धिक स्तर वृद्धिसहित शिक्षित व्यक्तिहरूलाई आफ्नो क्षमता प्रस्तुत गर्ने अवसरको रूपमा निबन्ध लेखन प्रतियोगिता आयोजना गरिएको र यस्ता कार्यक्रमहरूलाई मोना क्रोएसियाले निरन्तरता दिने बताउँदै अध्यक्ष सुन्दासले कार्यक्रमको समापन गरेका थिए ।