असहाय एवम् मनोरोगीका लागि आश्रयस्थल बनेको मानवसेवा आश्रम पोखरालाई म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यकारी समिति महिला विभागले झन्डै २ लाख आर्थिक सहयोग गरेको छ ।

पोखरा महानगरपालिका छोरेपाटनस्थित आश्रमले लामो समयदेखि कष्टकर जीवन विताउँदै आएका म्याग्दीका ५ जना मनोरोगीलाई उद्धार गरेपछि मोना महिला विभागकी संयोजक नन्दकली थापा ‘अनुषा’को संयोजकत्वमा १ लाख ९१ हजार ५५ रुपैयाँ सहयोग गरेको हो ।
म्याग्दीका विभिन्न स्थानबाट उद्धार गरिएका असहाय र मनोरोगीको उपचारका साथै गाँस, वास र कपासमा कुनै कमी हुन नदिन महिला विभागकी संयोजक थापा, विष्णु बानियाँ, नैना पुन, आशा पुन र सिता केसीले उक्त आर्थिक सहयोग संकलन गरी आश्रमलाई हस्तान्तरण गरेको मोना अन्तराष्ट्रिका कोषाध्यक्ष मुक्ति रोकाले जानकारी दिनुभयो ।

‘उक्त सहयोग म्याग्दीबाट उद्धार गरिएकालाई खर्च गरिन्छ,‘मानवसेवा आश्रम बेसहारका लागि बरदान सावित भएको छ’ रोकाले भन्नुभयो । उहाँले मोनामार्फत जिल्ला भित्रका विभिन्न सामाजिक तथा मानवीय सेवासँगै जिल्ला बाहिर म्याग्देलीलाई उद्धारको क्रममा समेत विभिन्न सहयोग गरिरहेको बताउनुभयो ।

सडक एवम् सार्वजनिक स्थलमा कहालिलाग्दो जीवन विताएका अनाथ, अशक्त, असहाय एवम् मनोरोगीको उद्धार गरी उपचार, पालनपोषण, संरक्षण गर्दै पुनः पारिवारिक पुनर्मिलन गराई पुर्नजन्म दिने काम गरेको समेत मोनाले जनाएको छ । मानबसेवाको अभियानमा भविस्यमा समेत सक्दो सहयोग गरिने मोनाले जनाएको छ ।

साभार बेनी अनलाइन