सेप्टेम्बर ८, कुवेत (Kuwait)

हालसालै गठन भएको म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिती कुवेतले आफ्नो तदर्थ समितीको दोर्सो मासिक बैठक फिन्तास पार्कमा सम्पन्न गरेको छ । बैठकबाट कुवेतको कुक्जे कम्पनीमा कार्यरत रघुगंगा गाउँपालिका–३ मतारेका गणेश बहादुर किसान (थापा) लाई म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यसमिति कुवेतले आर्थिक सहयोग गरेको छ ।

कुवेतको आदान अस्पतालमा झन्डै ५० दिनको उपचार पछि हिजो स्वदेश फर्किएका गणेश लाई म्याग्दी मोनाले नेपाली रु. ४०,००० हजार आर्थिक सहयोग गरेको हो । रक्तचापको समस्याले आफ्नै कोठामा अचेत भएर ढलेपछि उनलाई उपचारको लागि आदान अस्पतालमा भर्ना गरीएको थियो । दुई हप्ता सम्म कोमामा राखेर उपचार गरिएको थियो ।

   हस्पिटलमा बिरामी गणेशलाई भेट्दै मोना कुवेतका पदाधिकारीहरु

उनको उपचारमा लागेको सबै खर्च कम्पनीले व्यहोरेको छ । कम्पनीको सहयोगमा कुबेतको आदान अस्पतालमा उपचार गराएका गणेशको रेखदेखको लागि कम्पनीले राखुकै रिजन परियारलाई खटाएको थियो । बिगत २ वर्ष देखि कुक्जे कम्पनीमा कार्यरत रहेका गणेश बिरामी हुँदा घरपरिवारको गुजारा चलाउने सपना पनि भताभुंग भएको छ । उनको दायाँ खुट्टा र हात नचल्नुको साथै अहिले सामान्य बोल्न सक्ने भएपनि अझै पूर्ण रुपमा स्मरण गर्ने शक्ति फर्किसकेको छैन् ।

 नेपाल फर्किदै गणेश एयरपोर्टमा

कुवेतको कानुन अनुसार उनले पाउनु पर्ने सबै हिसाब उपलब्ध गराइएको सोही कम्पनीमा प्रशासन शाखामा कार्यरत राखु साझापानीका तिलक भण्डारी (कमल) ले जानकारी गराउनु भएको छ । उहाँकै संयोजकमा कम्पनीमा रकम संकलन गरि नेपाली रु. ४,६०,००० (चार लाख साठी हजार) गणेशको श्रीमती यु माया थापाको बैंक खातामा जम्मा गराएको र अरु थप रकम पनि संकलन भइरहेको भण्डारीले जानकारी गराउनु भएको छ ।

मोना कुवेत तदर्थ समितीको यो सहरानिय कामको लागि मोना आईईसी हार्दिक धन्यवाद दिन चाहन्छ । आगामी दिनमापनी यहाँहरु यसैगरी म्याग्दी र म्याग्देलीको हितको काममा सदा लागिरहनु हुनेछ ।