अगस्ट ३१ शुक्रबार
बेनी नगरपालीका २ ज्यामरुककोट खबरा स्थित पर्यटकीय स्थल लभ्लीहिल जाने पदमार्ग निर्माण कार्यको सुरु भएको छ । बेनी नगरपालिका, म्याग्दी प्रवासी नेपाली संघ(मोना) र म्याग्दी उद्योग वाणिज्य संघको संयुक्त लगानीमा निर्माण हुन लागेको बेनीको हाँडेभिर देखि लभ्लीहिल सम्मा जाने पदमार्गको शिलन्यास गत भदौ ८ गते शुक्रबार सम्पन्न गरिएको छ । नगरप्रमुख हरिकुमार श्रेष्ठ, मोनाका पदमार्ग निर्माण समितिका संयोजक समेत रहेका उपाध्यक्ष ओमनारायण जुक्जाली र म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्यले शिलन्यास गरेका हुन् । प्रवासीलाई समेत साझेदार बनाएर नयाँ अवधारणामा सञ्चालन गर्न लागिएको योजनालाई मोना बेनी लभ्लिहिल पदमार्ग योजना नामाकरण भएको छ । ५७ लाख आठ हजार २६० रुपैया लागत अनुमान गरिएको ५१८ मिटर लम्बाई र १.८ मिटर चौडाई भएको दायाँबाया दुवैतर्फ रेलीङ सहितको पदमार्ग आगामी ६ महिनाभित्र निर्माण सम्पन्न गरेर नगरपालिकालाई हस्तान्तरण गरिने लक्ष्य रहेको छ ।

मोना बेनी लभ्लिहिल पदमार्ग नामकरण गरिएको यस परियोजनामा बेनी नगरपालिका, मोना र संघले क्रमश पचास, चालीस र दश प्रतिशत लगानी गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ । जिल्लाको लागि बिभिन्न कार्यमा निरन्तर सहयोग गरिरहेको यस मोनाले गैरनाफामुलक उद्देश्यले यो पदमार्ग निर्माण गर्न लागिएको हो । पूर्वाधार निर्माण गरी जिल्लाका आर्थिक विकासमा योगदान गर्ने उद्देश्यले विश्वका विभिन्न देशमा रहेका म्याग्देलीहरुबाट सहयोग संकलन गरेर उपलब्ध गराइने मोनाका उपाध्यक्ष एबम यस परीयोजनाका संयोजक ओम नारायण जुग्जालीले बताउनुभएको छ ।