नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दिपकराज जोशीले म्याग्दीको पर्यटनको क्षेत्रमा सधै सहयोगी भूमिका खेल्ने बताएका छन् । उनले म्याग्दी पर्यटकीय जिल्ला भएकाले यहाँका योजनामा बोर्डबाट रचनात्मक कार्यहरुमा प्रत्येक्ष सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले पर्यटन क्षेत्रमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताएका छन् ।

मुस्ताङ भ्रमणका क्रममा सोमबार म्याग्दी सदरमुकाम बेनी आएका उनले उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।  नेपालमा पर्यटन क्षेत्रको विकासमा निजी क्षेत्रको ठूलो लगानी रहेको बताउँदै उनले होटल, ट्राभल र पछिल्लो समय एअरलाइन्सहरुले लगानी गरेको बताए । उनले विगत केही समययता व्यापारीक क्षेत्रले पर्यटन क्षेत्रको नेतृत्व गरिरहेको भन्दै लगानीलाई व्यवस्थित रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

कार्यकारी निर्देशक जोशीले पर्यटन बोर्डले बजार क्षेत्रसँग सम्बन्ध स्थापना गर्ने काम गर्दै आइरहेको बताउँदै पर्यटन मन्त्रालयअन्तर्गत धेरै संघसंस्थाहरु क्रियाशिल रहेको जानकारी दिए । उनले नेपाल पर्यटन बोर्डले देशलाई पर्यटकीय हिसाबले गन्तव्यका रुपमा विकास गर्न लागिपरेको बताए । नेपालको कुनै पनि क्षेत्रलाई पर्यटकीय रुपमा घोषणा गरेपनि त्यसको विकास हुन नसकेको दावी गर्दै उनले पर्यटन व्यवसायसँग पर्यटन बोर्ड सधैं साथमा रहने बताएका छन् ।

पर्यटकीय क्षेत्रको विकासका लागि सरोकारवालाले आवश्यक समन्वय तथा सहयोग गर्नुपर्ने भन्दै व्यापारीक समुदायलाई अगाडि बढाउन सकेमा पर्यटन क्षेत्रको विकास हुने जोशीको भनाई छ ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष प्रमोद श्रेष्ठले पर्यटकलाई केही समय भए पनि म्याग्दी जिल्लामै बस्ने वातावरण निर्माणका लागि योजना बनाउनुपर्ने बताए ।

म्याग्दी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कुविरकुमार श्रेष्ठले म्याग्दी जिल्लालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न पर्यटन बोर्डले सघाउनुपर्ने माग गरे । म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष जीवनबहादुर विश्वकर्माले पर्यटकीय क्षेत्रको विकास र प्रवद्र्धन हुन सकेमा युवा पलायन रोकिने बताएका छन् । त्यसैगरी संघका द्वितीय उपाध्यक्ष सुविन श्रेष्ठले उद्योग व्यवसाय चल्नका लागि पर्यटन व्यवसायको प्रवद्र्धन गर्न जरुरी रहेको बताएका छन् ।

बेनीका पर्यटन व्यवसायी बाबुराम आचार्यले पर्यटकीय क्षेत्र टोड्केमा २०६५ र २०७३ सालमा दुई पटकसम्म गुराँस तथा टोड्के महोत्सव लगाइसकिएको हुँदा अब त्यस ठाउँमा सामुदायिक लजको स्थापना गर्नुपर्ने आवश्यकता रहेको बताएका थिए । बेनी नगरपालिका वडानम्बर ८ का वडाध्यक्ष रामकृष्ण बराईलीले बेनीको कोटभण्डार ऐतिहासिक महत्वको रहेको हुँदा व्यवस्थित गर्नुपर्ने भन्दै बेनी शिवालय मन्दिरको संरक्षण र प्रवद्र्धन गर्नका लागि पर्यटन बोर्डले सहयोग गर्नुपर्ने बताए । उनले रामायण पार्क, लभ्लीहिल, जगन्नाथ मन्दिरको आवश्यक विकास गर्नुपर्ने बताएका छन् ।

म्याग्दीका अग्रज पत्रकार घनश्याम खड्काले कामभन्दा पनि कुरा बढी भएको हुँदा योजना कार्यान्वयनमा ध्यान दिनुपर्ने बताउँदै उनले धार्मिक पर्यटन विकासका लागि धर्मसँग जोडेर भौतिक पूर्वाधारहरुको विकास गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिएका थिए । बेनपा–९ का वडाध्यक्ष बेलबहादुर चोखालले ढोलठानमा बाइसे–चौबीसे राजाका पालामा रहेको दरबार र गाजनको डढेकोट दरबार संरक्षणमा निजी क्षेत्रले पनि ध्यान दिनुपर्ने बताए । कार्यक्रममा पत्रकार हरिकृष्ण गौतम, गोपाल छन्त्याल, कमल खत्रीले पनि आ–आफ्नो धारणा राखेका थिए ।

उद्योग वाणिज्य संघका अध्यक्ष जीवनबहादुर विश्वकर्माको अध्यक्षता तथा स्वागत, वरिष्ठ उपाध्यक्ष उत्तमकुमार कर्माचार्यको समापन र महासचिव राजेश शाक्यको सञ्चालनमा सम्पन्न कार्यक्रममा नागरिक दैनिकका पत्रकार अमृत भादगाउँलेले मन्तव्य राखेका थिए । बेनी अनलाईन वाट