म्याग्दीमा बाढीपहिरोबाट विस्थापितको पुर्नवास अभियानमा म्याग्दी प्रबासी नेपाली संघ (मोना)राष्ट्रिय कार्यसमिति जापानले २३ लाखभन्दा बढी आर्थिक सहयोग गरेको छ ।
गएको असार २५ गते पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–६, मराङ र मालिका–७, बिम सहित जिल्लाका विभिन्न स्थानमा बाढीपहिरोबाट विस्थापित भएकालाई सहयोग स्वरुप २३ लाख ११ हजार २४० रुपैयाँ संकलन गरिएको मोना जापानले जनाएको छ ।
मोना अन्तराष्ट्रियले सञ्चालन गरेको पुर्नवास अभियानमा जापानका विभिन्न सहरमा संकलन गरिएको आर्थिक गरिमा विकास बैंकको खातामा जम्मा गरिएको मोना जापानका महासचिव गणेश श्रेष्ठले बताउनुभयो ।


‘सहयोग अभियानमा साथ दिने सबैलाई धन्यवाद,‘कोरोनाको जोखिममा बिच पनि मन खुलेर सहयोग गर्नुभएको छ’ श्रेष्ठले भन्नुभयो ।
मोना जापानले बाढीपहिरोमा घाईते भएर उपचारको क्रममा पोखरामा पुगेका बिम, मराङ र ताकमका पीडितलाई तत्कालै उपचारमा १ लाख सहयोग गरेको थियो ।
मोना जापानले जन्मभूमिमा बाढीपहिरोले वितण्डा मच्चाएपछि विशाल केसीको संयोजत्वमा आर्थिक सहयोग समिति गठन गरी अभियान सञ्चालन गरेको थियो ।
अभियानमार्फत संकलन भएको आर्थिक हस्तान्तरणको अवसरमा मोना जापानका अध्यक्ष दिपक कार्कीले जन्मभूमिमा प्राकृतिक विपत्तीले पुर्याएको जनधनको क्षतीबाट दुखित भएको बताउँदै विस्थापितलाई पुर्नवास अभियानमा भविस्यमा आवशयक परेमा थप सहयोग गर्ने प्रतिबता जनाउनुभयो ।
‘समुन्द्रपारी भएपनि गाउँमा खसेको पहिरोले चिन्तित बनाएको छ,‘यो सहयोगले पुर्नवासमा इट्टा थप्ने अपेक्षा गरेको छु’ अध्यक्ष कार्कीले भन्नुभयो ।


यता मोना अन्तराष्ट्रियका अध्यक्ष ओमनारायण जुग्जालीले पुर्नवास अभियानमा जापानबाट प्राप्त सहयोगले धेरै सहज हुने बताउनुभयो । ‘सबै प्रवासीको सानोसानो सहयोगले विस्थापितलाई न्यानो घर दिदैंछौ,‘अभियानमा अझै आर्थिक सहयोगको आवश्यकता छ’ जुग्जालीले भन्नुभयो ।
प्रतिबद्धता जनाएको रकम संकलन हुने क्रम जारी रहेको बताउँदै जुग्जालीले हालसम्म करिब ८० लाखको हाराहारीमा आर्थिक जुटेको बताउनुभयो ।


राष्ट्रिय समितिमार्फत एकद्धार प्रणालीबाट सहयोग जुटाएर पुर्नवास अभियान सञ्चालन गरिरहेको जुग्जालीको भनाई छ ।
मोनाले जिल्लाभर विस्थापितको स्थानीय सरकार, सरोकारवाला निकायसँग समन्वय गरी घर बनाउन सघाउने छ । म्याग्दीका सबै ६ वटै स्थानीय तहमा बाढीपहिरोबाट करिब २ सय घरधुरी विस्थापित भएका छन्।

हरीकृष्ण गौतम